काठमाडौं, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका लामिछानेले भ्रमणको पहिलो दिनदेखि नै उच्चस्तरीय राजनीतिक भेटघाटलाई तीव्रता दिएका हुन्।
भेटका क्रममा लामिछाने र शाहबीच द्विपक्षीय सम्बन्ध, राजनीतिक सहकार्य तथा आपसी चासोका विविध विषयमा छलफल भएको बताइएको छ। यद्यपि भेटवार्ताको विस्तृत एजेन्डा सार्वजनिक गरिएको छैन।
लामिछानेले मंगलबार नै भारतका विदेशमन्त्री एस. जयशंकरसँग पनि भेट गरेका छन्। त्यसैगरी उनले भाजपा अध्यक्ष नितिन नवीनसँग समेत शिष्टाचार तथा राजनीतिक भेटवार्ता गरेका छन्।
रास्वपा स्रोतका अनुसार भ्रमणका क्रममा लामिछानेले भारतीय राजनीतिक नेतृत्वसँग विभिन्न विषयमा संवाद गर्ने कार्यक्रम रहेको छ। उनी आइतबार भारत प्रस्थान गरेका थिए।





