राजनीति

स्वर्गीय राजाको परिपक्व शासकीय सुझाव अहिलेका अर्थमन्त्रीका लागी सान्दर्भिक छ : कांग्रेस नेता आचार्य

२० जेठ, काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता महेश आचार्यले २०४८ सालमा आफूले प्रस्तुत गरेको पहिलो बजेट र तत्कालीन राजा वीरेन्द्र शाहसँगको पहिलो भेटको मार्मिक संस्मरण गरेका छन्।

लोकतान्त्रिक आन्दोलनपश्चात्को पहिलो निर्वाचित सरकारको अर्थमन्त्रीका रूपमा बजेट प्रस्तुत गर्नुअघि राजालाई जानकारी गराउनुपर्ने परम्पराअनुसार भएको उक्त भेटघाटले तत्कालीन राजनीतिक र आर्थिक संक्रमणकालको महत्त्वपूर्ण पाटो उजागर गरेको उनको भनाइ छ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै
आचार्यले बजेट प्रस्तुत गर्ने अघिल्लो दिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफ्नो अनुभवहीनता र दरबारको अपरिचित परिवेशलाई लिएर चिन्तित देखिएको बताएका छन् ।

तर, राजा वीरेन्द्रको सौम्य र मित्रवत् व्यक्तित्वले भेटघाट सहज बनाएको आचार्यले उल्लेख गरेका छन् ।

बजेटको सैद्धान्तिक पक्ष, जसमा पञ्चायतकालीन राज्य नियन्त्रण हटाएर उदार र प्रतिस्पर्धी अर्थतन्त्रतर्फको संरचनात्मक परिवर्तन तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने प्राथमिकताहरू थिए, राजाले गम्भीरतापूर्वक सुन्नुभएको उनले लेखेका छन्।

राजा वीरेन्द्रले आफुलाइ दुई महत्त्वपूर्ण सुझाव दिएको उनले उल्लेख गरेका छन् । जसको सान्दर्भिकता आजका अर्थमन्त्रीका लागि पनि उत्तिकै रहेको आचार्यको भनाइ छ।

उनका अनुसार पहिलो सुझाव थियो—आर्थिक सुधारको महत्त्व र यसको सकारात्मक प्रभावलाई आम जनतासम्म कसरी आश्वस्त हुने गरी पुर्‍याउने? र, दोस्रो सुझाव—संसदका प्रतिपक्षी दललाई सुधार प्रक्रियामा कसरी सँगै लिएर जाने ?

यसका लागि सरकारले गम्भीर संवाद र परामर्श गर्नुपर्ने राजाको भनाइ रहेको उनको भनाइ छ।

आचार्यले बजेट प्रस्तुतिपछि प्रेससँगको अन्तर्क्रिया, निजी क्षेत्रका उद्यमी व्यवसायीसँगको छलफल र संसदीय संवादले यी मुद्दामा अवसर प्रदान गर्ने विश्वास दिलाएको बताए ।

त्यसपछि राजाले ुप्रेससँग धैर्यतापूर्वक संवाद गर्नुु भन्ने स्नेहपूर्ण सुझाव दिएको स्मरण गर्दै दरबारबाट फर्कंदा प्रधानमन्त्री कोइराला आफ्नो प्रस्तुतिबाट आश्वस्त र तनावमुक्त देखिएको आचार्यले स्मरण गरेका छन्।

स्वर्गीय राजा वीरेन्द्रको त्यो भद्र व्यक्तित्व र स्नेहयुक्त व्यवहार ३५ वर्षपछि पनि आफ्नो स्मृतिमा जीवन्त रहेको र उनका परिपक्व शासकीय सुझावहरू अहिलेका अर्थमन्त्रीका लागि पनि सान्दर्भिक रहेको आचार्यले बताएका छन् ।

यो संस्मरणले नेपालको आर्थिक उदारीकरणको प्रारम्भिक चरण र तत्कालीन राजसंस्थाको भूमिकामाथि प्रकाश पारेको छ।