२० जेठ, काठमाडौं । सरकारले स्थल सीमा नाकाबाट आवतजावत गर्ने यात्रुले बिनाभन्सार ल्याउन वा लैजान पाउने निजी प्रयोगका सामानको छुट सीमा १ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ पुर्याएको छ।
अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु भन्सार प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्ने व्यवस्था गरेको जनाएको छ।
भारतमा अध्ययनरत नेपाली विद्यार्थीले एक थान कम्प्युटर वा ट्याबलेट नेपाल ल्याउँदा भन्सार नलाग्ने व्यवस्था भने यथावत राखिएको छ।
यसअघि लागू गरिएको १ सय रुपैयाँको सीमा विवादित बनेपछि सरकारले नियम संशोधन गर्दै छुट सीमा बढाएको हो।






