२० जेठ, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूको नामावली सार्वजनिक गर्दै उनीहरूले आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएको हुनसक्ने सम्पत्तिबारे सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।
समितिले सार्वजनिक सूचना जारी गर्दै सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, नातागोता, आफन्त वा अन्य व्यक्तिको नाममा सम्पत्ति तथा रकम लुकाइएको जानकारी भएमा कार्यालयमा सूचना दिन अनुरोध गरेको हो।
समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूले संस्थाको दायित्व व्यवस्थापन, ऋण असुली, सम्पत्ति तथा अन्य स्रोत–साधनको पहिचान र संरक्षणमा सहयोग गर्नुपर्ने दायित्व रहेको छ। साथै बचतकर्ताको रकम फिर्ता, दायित्व व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यमा नियमित रूपमा समितिसँग समन्वय गर्न पनि आग्रह गरिएको छ।
समितिले सम्बन्धित सञ्चालकहरूलाई आवश्यक सहयोग नगरे कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
यस्तै, सार्वजनिक गरिएको विवरणमा कुनै त्रुटि वा अद्यावधिक गर्नुपर्ने विषय भए सम्बन्धित व्यक्तिलाई समितिको कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
समितिले समस्याग्रस्त २३ सहकारी संस्थाका सञ्चालकहरूको विवरण समेत सार्वजनिक गरेको छ।





