२० जेठ, काठमाडौं । सरकारले बहालवाला तथा निवृत्त उपसचिव वा सोभन्दा माथिका कर्मचारीहरूको तलबी विवरण अब अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ।
राष्ट्रिय किताबखाना (निजामती) मा सम्पत्ति छानबिनसम्बन्धी चाप बढेपछि सेवाग्राहीलाई सहज बनाउन “डिजिटल डकुमेन्ट एक्सेस सर्भिस” सञ्चालनमा ल्याइएको हो। यससँगै २०१७ सालदेखिको पद, तलब स्केल र ग्रेडसम्बन्धी विवरण वेबसाइटमै हेर्न सकिने भएको छ।
किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार अब कर्मचारीले कार्यालय धाउन नपर्ने गरी सेवा पूर्ण रूपमा ‘फेसलेस’ बनाइएको छ।
सेवाग्राहीले आफ्नो विवरण दुई डिजिटल माध्यमबाट प्राप्त गर्न सक्नेछन्। पहिलो, ह्वाट्सएप नम्बर ९७१४४९९२४० मा नाम, पद र संकेत नम्बर पठाएर; दोस्रो, [email protected] मा इमेल गरेर सक्नेछन्।
ह्वाट्सएपमार्फत प्राप्त विवरण २४ घण्टाभित्र स्वतः मेटिने व्यवस्था गरिएको छ भने इमेल सेवा तुलनात्मक रूपमा सुरक्षित र स्थायी हुने बताइएको छ।
कुनै प्राविधिक समस्या भएमा वेबसाइटमा रहेको ‘तलब र ग्रेड सिट’ प्रयोग गरेर आफैं पनि विवरण गणना गर्न सकिने व्यवस्था गरिएको छ। विभागले सेवाग्राहीलाई अनावश्यक रूपमा कार्यालय नधाउन आग्रह गरेको छ।





