राजनीति

अध्यक्ष पद नछोड्ने ओलीको स्पष्टता

२० जेठ, काठमाडौं । केपी शर्मा ओलीले अप्ठ्यारो परिस्थितिमा पार्टी नेतृत्व नछोड्ने स्पष्ट पारेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू अध्यक्ष बन्ने क्रममा नै चुनौती आए पनि जिम्मेवारीबाट पछि हट्ने उद्देश्य नरहेको बताए।

ओलीले पार्टीलाई सफलतासम्म पुर्‍याएपछि मात्र विधिसम्मत रूपमा विश्राम लिने उल्लेख गर्दै बीचमै नेतृत्व छोड्ने कुनै योजना नरहेको प्रष्ट पारे। उनले कार्यकर्तामा देखिन सक्ने आशंका नलिन आग्रह गर्दै भने, “मैले बीचमै पार्टी अलपत्र छोड्ने छैन।”

उनका अनुसार पितृ शोक, स्वास्थ्य समस्या र केही कानुनी तथा राजनीतिक कारणले बीचमा गतिविधि केही सुस्त भए पनि अब नेताहरूसँग भेटघाट र संगठनात्मक गतिविधि तीव्र बनाइनेछ। उनले पार्टी, आन्दोलन र देशलाई चुनौतीको सामना गर्दै अघि बढाउने संकल्प यथावत रहेको पनि बताए।