आर्थिक

किन भईरहन्छ सेयर बजारमा उतारचढाव ?

२० जेठ, काठमाण्डौँ । सेयर बजारमा बुधबार सामान्य वृद्धि देखिएको छ। नेप्से परिसूचक २.६६ अंकले बढ्दै २७८० बिन्दुमा कायम भएको छ भने कुल कारोबार रकम बढेर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

बजार दिनभर सीमित उतारचढावबीच अघि बढ्यो । १४९ कम्पनीको सेयर मूल्य बढ्दा ११६ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।

यस दिन निर्जीवन बीमा समूहमा उल्लेखनीय वृद्धि देखियो। बजेटमार्फत तेस्रो पक्ष बीमाङ्क रकम दोब्बर गरी १० लाख पुर्‍याइएपछि यस समूहमा लगानीकर्ताको आकर्षण बढ्दै सूचक ३.३७ प्रतिशतले उकालो लागेको हो। अघिल्लो दिन फाइनान्स समूहमा देखिएको उत्साह आज बीमा क्षेत्रमा सरेको देखिएको छ।

अन्य समूहतर्फ जीवन बीमा १.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४२ प्रतिशत, माइक्रोफाइनान्स ०.४५ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत र विकास बैंक ०.६६ प्रतिशतले बढे। तर ‘अन्य’ समूह सबैभन्दा धेरै २.३६ प्रतिशतले घट्यो। बैंकिङ, फाइनान्स, जलविद्युत्, व्यापार र लगानी समूहमा पनि सामान्य गिरावट देखियो।

कारोबारमा कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढ्यो। त्यसैगरी एसबीएल डिबेन्चर (२०८४) १४.९३ प्रतिशत, विजय लघुवित्त ८.७३ प्रतिशत, सयपत्रि हाइड्रोपावर ७.०५ प्रतिशत र नेपाल इन्स्योरेन्स ६.१७ प्रतिशतले उकालो लागे।

त्यस्तै नेपाल पुनर्बीमा ५.१८ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावटमा रह्यो। सेन्ट्रल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स र त्रिशूली जलविद्युत्का सेयर मूल्य पनि घटेका छन्।

आज सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर रहेका छन्।