समाचार

राष्ट्रपति कार्यालय क्षेत्रमा हात्ती दाह्रासहित ५ युवक पक्राउ, लागुऔषध पनि बरामद

२० जेठ, काठमाण्डौँ ।  राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएको हात्तीका दाह्रा प्रकरणमा प्रहरीले काठमाडौं उपत्यकाबाट ५ जनालाई पक्राउ गरेको छ।

जेनजी आन्दोलनका क्रममा शीतल निवासमा भएको तोडफोड र आगजनीपछि भित्तामा सजाइएका दुई थान हात्तीका दाह्रा चोरी भएको खुलेको थियो। करिब ९ महिनापछि अनुसन्धान अघि बढाउँदै प्रहरीले मनमैजु र टोखा क्षेत्रबाट अभियुक्तहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट चोरी भएका दाह्राका टुक्रासँगै लागुऔषध ट्रामाडोल १५० ट्याब्लेट पनि बरामद भएको छ।

उनीहरूविरुद्ध वन्यजन्तु संरक्षण ऐन र लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।