२० जेठ, काठमाण्डौँ । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्यमा असहजता देखिएपछि प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम मुख्यमन्त्री यामलाल कँडेलले वाचन गरेका छन्।
बुधवार प्रदेश सभामा प्रस्तुत भइरहेको नीति तथा कार्यक्रमको सुरुवातमा प्रदेश प्रमुख जोशीले केही अंश वाचन गरेका थिए । तर स्वास्थ्यमा समस्या र समयको कारण देखाउँदै उनले बाँकी वाचन मुख्यमन्त्रीलाई गर्न आग्रह गरे।
प्रदेश प्रमुख जोशीले सभामा भने, “मैले नीति तथा कार्यक्रम यति नै वाचन गरेँ। स्वास्थ्यमा असहजता भएकाले बाँकी भाग मुख्यमन्त्रीज्यूलाई वाचन गर्न आग्रह गर्छु।”
त्यसपछि सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेललाई रोस्ट्रम प्रयोग गरी नीति तथा कार्यक्रम वाचन गर्न अनुमति दिएकी थिइन्।
प्रदेश प्रमुखको स्वास्थ्य अवस्थाका कारण कार्यक्रमको बाँकी हिस्सा मुख्यमन्त्री कँडेलले नै पूरा गरेका थिए।





