ब्रेकिङ न्युज

त्रिविको जग्गा कब्जामा राख्नेहरूलाई अन्तिम अल्टिमेटम

२० जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वको जग्गा खाली गर्न दिएको समयसीमा सकिएपछि अटेर गर्ने संघसंस्था र व्यवसायिक प्रयोजनमा प्रयोग भइरहेका संरचना बल प्रयोग गरेर हटाउने तयारी गरेको छ।

त्रिविका पदाधिकारीका अनुसार जग्गा फिर्ता गराउने अभियानलाई थप कडाइका साथ अघि बढाइनेछ। केही संस्थाले जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि अधिकांशले अझै खाली नगरेकाले अब प्रशासनिक तथा कानुनी प्रक्रिया अपनाइने भएको हो।

त्रिविले विभिन्न संघसंस्था, बैंक, विद्यालय तथा अन्य निकायले प्रयोग गर्दै आएको दुई हजारभन्दा बढी रोपनी जग्गा फिर्ता ल्याउने अभियान सुरु गरेको छ। विश्वविद्यालयको सम्पत्ति संरक्षण र दीर्घकालीन शैक्षिक विकासका लागि यो कदम आवश्यक रहेको त्रिविको भनाइ छ।

हाल भाडामा बसेका केही पक्षलाई सीमित समय दिइएको भए पनि त्यसपछि पनि अटेर गरे बलपूर्वक हटाइने चेतावनी त्रिविले दिएको छ।