ब्रेकिङ न्युज

सगरमाथा क्षेत्रमा हराएका गाइड शेर्पा ६ दिनपछि भेटिए, उद्धार गरी काठमाडौं ल्याइँदै

२१ जेठ, काठमाडौं । सगरमाथा क्षेत्रको खुम्बु आइसफलमा ६ दिनदेखि बेपत्ता रहेका पर्वतारोहण गाइड दावा शेर्पा जीवित अवस्थामा फेला परेका छन् । उनलाई आज बिहान खोजी टोलीले घिस्रिँदै तल झर्ने अवस्थामा भेटेको हो ।

ओखलढुङ्गाका शेर्पा जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए । उनी हिमालयन ट्राभर्स एडभेन्चरमा आबद्ध थिए र एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए ।

खोजीमा खटिएको एटके एक्सपिडिसनको टोलीले आफ्नै खर्चमा अल्टिच्युड एयरको हेलिकोप्टरसहित उद्धार अभियान सञ्चालन गरेको थियो । एटके एक्सपिडिसनका प्रबन्ध निर्देशक पेम्बा शेर्पाका अनुसार उनलाई हिउँमा घिस्रिँदै बाँचिरहेको अवस्थामा फेला पारिएको हो ।

फेला पर्दा उनको शरीरका केही भाग, विशेषगरी औंलामा चोट देखिएको बताइएको छ । उनलाई तत्काल हेलिकोप्टरमार्फत आधार शिविर हुँदै थप उपचारका लागि काठमाडौं ल्याइँदैछ ।