समाचार

अस्पतालको आईसीयूमा आगलागी हुँदा चार जनाको मृत्यु

२१ जेठ, काठमाडौं ।   भारतको बिहार राज्यको मुजफ्फरपुर स्थित एक निजी अस्पतालको आईसीयूमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब ३ बजे प्रसाद अस्पतालको आईसीयूमा अचानक आगो लागेको हो।

स्थानीय प्रशासनका अनुसार प्रारम्भिक अनुसन्धानमा सर्ट सर्किटका कारण आगलागी भएको आशंका गरिएको छ। घटनापछि अस्पताल परिसरमा अफरातफरी मच्चिएको थियो।

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले घटनामा चार जनाको मृत्यु भएको पुष्टि गर्दै मृतकका परिवारलाई जनही ४ लाख भारु आर्थिक सहायता उपलब्ध गराइने घोषणा गरेका छन्।

जिल्ला अधिकारीका अनुसार सुरुमा तीन जनाको मृत्यु भएको भनिए पनि पछि संख्या चार पुगेको हो। घटनामा अन्य बिरामीहरू पनि घाइते भएका छन्, जसलाई तत्कालै उद्धार गरी नजिकका अस्पतालहरूमा सारिएको छ।

अधिकारिहरूले घटनाको विस्तृत अनुसन्धान भइरहेको र वास्तविक कारण तथा क्षतिको पूर्ण विवरण पछि सार्वजनिक गरिने बताएका छन्।

अस्पतालबाट बिरामीहरूलाई आकस्मिक रूपमा बाहिर निकाल्दै उद्धार गरिएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसले घटनाको भयावह अवस्था देखाएको छ।