समाचार

घुस काण्डमा सांसद सिंहलाई ४ वर्ष कैद, साढे ३८ लाख जरिवाना

२१ जेठ, काठमाडौं । घुस लिएको ठहर गर्दै विशेष अदालतले मधेश प्रदेशसभा सदस्य सरोज सिंहलाई ४ वर्ष १ महिना कैद सजाय र ३८ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ।

उपभोक्ता समितिमार्फत विकास योजनाको बजेट मिलाइदिएबापत बजेटको करिब एक तिहाइसम्म रकम घुसस्वरूप लिएको पुष्टि भएपछि अदालतले सिंहलाई दोषी ठहर गरेको हो। अदालतले उनले प्राप्त गरेको ३८ लाख ५० हजार रुपैयाँ जफत गर्न तथा १ लाख ५४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नसमेत आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा विभिन्न उपभोक्ता समितिका खाताबाट सांसद सिंह र उनीसँग सम्बन्धित खातामा रकम स्थानान्तरण भएको भेटिएको थियो। योजनाको बजेट विनियोजनदेखि मन्दिर, सडक तथा स्वास्थ्यसम्बन्धी संरचना निर्माणसम्मका परियोजनामा कमिसन लिएको आरोप पुष्टि भएपछि विशेष अदालतले सजाय निर्धारण गरेको हो।

यसअघि गत ४ जेठमै दोषी ठहर भएका सिंहको सजाय निर्धारणसम्बन्धी अन्तिम फैसला हालै सार्वजनिक भएको हो।