२१ जेठ, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको सरकारी स्कर्पियो गाडी चोरी भएको घटना सार्वजनिक भएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने उक्त स्कर्पियो बुधबार मध्यराति ठेचो क्षेत्रबाट हराएको भन्दै प्रहरीमा उजुरी दर्ता गरिएको हो।
घटनापछि जिल्ला प्रहरी परिसर ललितपुर ले गाडीको खोजी तीव्र बनाएको जनाएको छ। परिसरका प्रमुख गौतम मिश्र का अनुसार विभिन्न प्राविधिक माध्यम र उपलब्ध सूचनाको आधारमा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा एक व्यक्तिले स्कर्पियो चलाएर लगेको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि गाडीका चालकसँग पनि सोधपुछ गरिएको प्रहरीले जनाएको छ। चालकले भने आफू राति सुतिरहेको बेला गाडी चोरी भएकाले घटनाबारे जानकारी नभएको बयान दिएका छन्।
हालसम्म चोरी भएको स्कर्पियो फेला नपरेको र घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।





