ब्रेकिङ न्युज

बिल माग्नुस्, लाखौं जित्नुस् : सरकारको नयाँ लट्री योजना

२१ जेठ, काठमाडौं । सरकारले उपभोक्तालाई खरिद–बिक्रीको बिल लिन प्रोत्साहन गर्न आगामी आर्थिक वर्षदेखि भ्याट बिलमा लट्री (चिट्ठा) योजना सञ्चालन गर्ने भएको छ।

आगामी आवको बजेटमार्फत सरकारले डिजिटल भुक्तानी गरी खरिद गर्दा जारी हुने भ्याट बिलमा १० प्रतिशतसम्म भ्याट छुट दिने तथा बिल लिने–दिने संस्कृतिलाई प्रवर्द्धन गर्न लट्री कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो।

आन्तरिक राजस्व विभागका अनुसार उपभोक्ताले प्राप्त गरेका भ्याट बिलका आधारमा नियमित रूपमा लक्की ड्र गरिनेछ र विजेतालाई नगद तथा अन्य पुरस्कार प्रदान गरिने व्यवस्था गरिनेछ। यसअघि पनि यस्तै कार्यक्रम सञ्चालन गरिएको भए पनि अपेक्षित प्रभाव नदेखिएपछि रोकिएको थियो।

विभागले अहिले डिजिटल कारोबार र उपभोक्ता सचेतना बढेकाले यो योजना प्रभावकारी हुने विश्वास गरेको छ। योजना कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार पारेर आगामी आर्थिक वर्षदेखि लागू गरिने जनाइएको छ।

सरकारले यस कदमबाट बिल लिने–दिने बानीको विकास, कारोबारको औपचारिकीकरण तथा राजस्व संकलनमा वृद्धि हुने अपेक्षा गरेको छ।