२२ जेठ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरूबीच डिजिटल शासन, साइबर सुरक्षा, पत्रकार सुरक्षा तथा मिडिया सुधारका विषयमा छलफल भएको छ।
सिंहदरबारमा भएको भेटवार्तामा संयुक्त राष्ट्रसंघीय प्रतिनिधिहरूले डिजिटल साक्षरता, साइबर अपराध नियन्त्रण, मिडियाको क्षमता विकास तथा प्रविधिमैत्री सेवा प्रवाहका क्षेत्रमा नेपालसँग सहकार्य विस्तार गर्न इच्छुक रहेको बताएका छन्। साथै नागरिक एप, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली र हेलो सरकारजस्ता डिजिटल सेवाको सुदृढीकरणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
भेटका क्रममा मन्त्री डा. तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै तथ्य परीक्षण, पत्रकारको क्षमता अभिवृद्धि र मिडिया नियमनलाई प्राथमिकतामा राखिएको बताए। उनले डिजिटल रूपान्तरण, साइबर सुरक्षा, इन्टरनेट पहुँच विस्तार तथा नागरिकमैत्री सेवा प्रवाहका क्षेत्रमा संयुक्त राष्ट्रसंघसँगको सहकार्य थप विस्तार गर्न सरकार इच्छुक रहेको जानकारी दिए।






