२३ जेठ, काठमाडौँ । काठमाडौं महानगरपालिका ले महानगर क्षेत्रभित्र भेटिने सामुदायिक तथा मृत जनावरहरूको व्यवस्थापन र अन्तिम संस्कारका लागि नयाँ व्यवस्था लागू गरेको छ।
महानगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार कानुनबमोजिम छनोट गरिएको सेवा प्रदायक संस्था नेपाल फुलवारी वेस्ट एण्ड पोलुसन कन्ट्रोल सर्भिस प्रा.लि. सँग सम्झौता भई २०८३ वैशाख ४ गतेदेखि औपचारिक रूपमा सेवा सञ्चालनमा आएको हो।
सूचनामा महानगर क्षेत्रभित्र कुनै पनि मृत जनावर फेला परेमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन आग्रह गरिएको छ। त्यसका लागि सेवा प्रदायक संस्थाका प्रतिनिधि बसन्त खड्कासँग ९७६३६९४७५४ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।
महानगरले यस सेवामार्फत सार्वजनिक स्वास्थ्य, सरसफाइ र वातावरणीय व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्य लिएको जनाएको छ। साथै, सबै वडा कार्यालयहरूलाई आवश्यक समन्वय गरी सूचना प्रवाह तथा कार्यान्वयनमा सहयोग गर्न निर्देशन दिइएको छ।
महानगरले यो व्यवस्था लागू भएसँगै मृत जनावर व्यवस्थापन कार्य थप व्यवस्थित, छिटो र सुरक्षित हुने अपेक्षा व्यक्त गरेको छ।






