२५ जेठ, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई करार कर्मचारीलाई गैरकानुनी रूपमा यात्रु व्यवस्थापन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुमित्रा चन्द र प्रवीण लामिछानेलाई आइतबार पक्राउ गरेको हो। उनीहरू ग्राउण्ड ह्याण्डलिङ स्टाफका रूपमा कार्यरत थिए।
अनुसन्धान अनुसार, भारत जानुपर्ने एक भारतीय नागरिक अध्यागमन जाँच पार गरेर वेटिङ रुममा पुगेपछि उनलाई फ्लाई दुबईमार्फत दुबई जाने बोर्डिङ पास दिइएको पाइएको छ। ती यात्रु जेठ ३ गते दुबई पुगेका थिए।
नेपालबाट तेस्रो मुलुक जानका लागि भारतीय नागरिकले अनिवार्य रूपमा नो अब्जेक्शन सर्टिफिकेट (NOC) पेस गर्नुपर्ने नियम छ। तर उक्त प्रक्रिया नअपनाई बोर्डिङ पास जारी गरिएको आरोपमा उनीहरू अनुसन्धानमा तानिएका हुन्।
अध्यागमन विभागको पत्राचारपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।





