ब्रेकिङ न्युज

बालेन सरकारले गर्‍यो एकैपटक १० सचिवको सरुवा, को कहाँ ?

२५ जेठ, काठमाडौं । सरकारले एकैपटक १० सचिवको सरुवा गरेको छ । यही जेठ २२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा सचिवहरूको सरुवा गरिएको हो ।

मन्त्रालय समायोजन गर्नुअघि वन तथा वातावरण मन्त्रालयको सचिव रहेका डा। गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने गरी जिम्मेवारी दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०को सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति कार्यालयमा रहेका डा। कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा राखिएको छ । सचिव पुष्कर प्रधानमन्त्री शाहलाई ‘एसएमएस’ गरेको विवादमा मुछिएका थिए


नेपाल ट्रस्टको कार्यालयमा रहेकी प्रमिलादेवी शाक्य बज्राचार्यलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सरुवा गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा लगिएको छ ।

गण्डकी प्रदेशका प्रमुख सचिव डुण्डुराज घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । घिमिरेविरुद्ध पोखरा विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।

अर्थ मन्त्रालयका राजस्वसचिव भूपाल बराललाई गण्डकी प्रदेशको सचिवमा सरुवा गरिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरजकुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराज शर्मालाई पनि मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।