२७ जेठ, दाङ । बिदेशीलाई नागरिकता दिलाएको आरोपमा वडा अध्यक्ष र सचिव पक्राउ परेका छन् ।
झुट्टा विवरण पेस गरेर गैरनेपाली नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा दाङमा एकजना वडा अध्यक्ष र वडा सचिवसहित चारजना पक्राउ परेका हुन ।
जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष र कर्मचारीहरूको मिलेमतोमा गैरकानुनी रूपमा नागरिकता बनाएको खुलासा भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ का वर्तमान वडा अध्यक्ष रामेश्वर यादव ९रामेश्वर अहिर०, सोही वडाका वडा सचिव राजेश कुमार कहार र तत्कालीन कार्यालय सहायक मिना चौधरी रहेका छन् ।
यसैगरी झुट्टा विवरणका आधारमा नेपाली नागरिकता प्राप्त गर्ने राजपुर गाउँपालिका ४ का आलम जोल्हालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा नागरिकता प्राप्त गर्नका लागि कुनै पनि योग्यता नपुगेका गैरनेपाली नागरिक आलम जोल्हालाई राजपुर गाउँपालिका–४ निवासी स्वर्गीय सनाउल्ला जोल्हाको छोरा कायम गराई कागजात मिलाइएको खुलेको छ ।
प्रहरीले पक्राउ परेका चारैजना विरुद्ध नागरिकता सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप विस्तृत अनुसन्धान अगाडि बढाएको छ ।




