२८ जेठ, काठमाडौं । संविधान संशोधनसम्बन्धी सुझाव संकलन गरिरहेको कार्यदलले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वको ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले बिहीबार तीनै जना पूर्वप्रधानमन्त्रीसँग भेट गरी संविधान संशोधनका विविध विषयमा सुझाव लिएको हो।
सुझाव संकलनका क्रममा कार्यदलको टोली ललितपुरको मानभवनस्थित प्रचण्डको निवास पुगेको थियो। सोही स्थानमा पूर्वप्रधानमन्त्री नेपाल र खनालको उपस्थितिमा सामूहिक छलफल भएको जनाइएको छ।
कार्यदलले संविधान संशोधनका सम्भावित विषय, राजनीतिक सहमति र सुधारका आवश्यक पक्षबारे धारणा तथा सुझाव संकलन गरिरहेको जनाएको छ। संविधान संशोधनसम्बन्धी बहसलाई व्यापक बनाउन विभिन्न राजनीतिक नेतृत्व तथा सरोकारवालासँग परामर्शलाई निरन्तरता दिइने कार्यदलको भनाइ छ।





