ब्रेकिङ न्युज

किन उठ्यो अख्तियारको भूमिकामाथि प्रश्न ?

२९ जेठ, काठमाडौं । सम्पत्ति छानबिन आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यप्रणालीकै कारण मुलुकमा भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन नसकेको बताएका छन्।

आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको लिखित जवाफ पेश गर्दै उनले उच्च राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रसँग सम्बन्धित भ्रष्टाचार तथा अवैध सम्पत्तिको अनुसन्धानमा अख्तियार पर्याप्त रूपमा सक्रिय हुन नसकेको दाबी गरेका हुन्।

भण्डारीका अनुसार उजुरीका आधारमा मात्र अनुसन्धान गर्ने प्रवृत्तिका कारण धेरै प्रभावशाली व्यक्तिहरूमाथि आवश्यक छानबिन हुन नसकेको छ। यही कारण अवैध सम्पत्ति आर्जन गर्ने र त्यसलाई लुकाउने समूहहरू झन् बलियो बन्दै गएको उनको भनाइ छ।

उनले आफ्नो नेतृत्वमा गठित सम्पत्ति छानबिन आयोगको उद्देश्य लुकाइएका गैरकानुनी सम्पत्तिको खोजी तथा तथ्य संकलन गर्नु मात्र रहेको स्पष्ट पारेका छन्। आयोगले कुनै निकायको अधिकार खोस्ने वा हस्तक्षेप गर्ने नभई अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग गर्ने उनको जिकिर छ।

लिखित जवाफमा आयोगलाई सिफारिससहित प्रतिवेदन पेश गर्ने अधिकार मात्र भएकाले यसलाई अख्तियारको अधिकारक्षेत्रमाथिको हस्तक्षेप भन्न नमिल्ने तर्क पनि गरिएको छ।

भण्डारीले आयोग गठन भएपछि अवैध सम्पत्ति सम्बन्धी अनुसन्धान छिटो र व्यवस्थित हुने तथा सम्बन्धित निकायलाई मुद्दा प्रक्रिया अघि बढाउन थप आधार प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

यसअघि प्रधानमन्त्री बालेन शाहले पनि आयोगविरुद्ध परेको रिटमा सर्वोच्च अदालतलाई बुझाएको जवाफमा भ्रष्टाचार अनुसन्धानलाई प्रभावकारी बनाउन आयोग गठन गरिएको उल्लेख गरेका थिए। प्रधानमन्त्री र आयोग अध्यक्ष दुवैको लिखित जवाफमा अख्तियारको कार्यक्षमतामाथि प्रश्न उठाइएको देखिन्छ।