२८ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्क क्षेत्रमा अस्थायी रूपमा राखिएका विस्थापित सुकुमवासी परिवारको अवस्था बुझ्न होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गरेका छन्।
बिहीबार साँझ सेन्टरमा पुगेका मन्त्री गुरुङले त्यहाँ रहेका परिवारसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या र गुनासो सुने। भेटका क्रममा उनले सुकुमवासी बस्ती हटाइँदा आफू गृह मन्त्रालयको जिम्मेवारीमा नरहे पनि त्यसबाट नागरिकले भोग्नुपरेको कठिनाइप्रति दुःख व्यक्त गर्दै माफी मागेका थिए।
सुकुमवासी परिवारले बालबालिकाको पढाइ प्रभावित भएको, स्वास्थ्य सेवा पाउन कठिन भएको तथा दैनिक जीवन नै असहज बनेको गुनासो गरेका थिए। उनीहरूको कुरा सुनेपछि गृहमन्त्री गुरुङले सरकारले उचित व्यवस्थापनका लागि काम गरिरहेको आश्वासन दिएका छन्।
उनले प्रभावित परिवारको सुरक्षा, स्वास्थ्य उपचार र आकस्मिक सेवामा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन्। साथै होल्डिङ सेन्टरमा आवश्यक समन्वय र निगरानीका लागि प्रहरी परिचालन गर्न पनि निर्देशन दिइएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
गृहमन्त्री गुरुङले सुकुमवासी समस्या केवल अस्थायी व्यवस्थापनले मात्र समाधान नहुने भन्दै दीर्घकालीन र सम्मानजनक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।





