बैंकिङ

आईएमई लाइफको मूल्याङ्कन स्तरोन्नति, ‘केयर–एनपी ए–’ प्राप्त

२९ जेठ, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय तथा संस्थागत सुदृढताको प्रमाणस्वरूप मूल्याङ्कनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको अघिल्लो ‘केयर–एनपी बिबिबी’ मूल्याङ्कनलाई स्तरोन्नति गर्दै ‘केयर–एनपी ए–’ प्रदान गरेको हो।

कम्पनीका अनुसार उक्त स्तरोन्नतिले सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। साथै, बीमित तथा अन्य सरोकारवालाको विश्वास कायम राख्न कम्पनी सफल भएको मूल्याङ्कन संस्थाले जनाएको छ।

‘केयर–एनपी ए–’ मूल्याङ्कनले कम्पनीसँग आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्ने तथा अघिल्लो मूल्याङ्कनको तुलनामा कम्पनी अझ सबल संस्थाका रूपमा स्थापित भएको देखाउने बताइएको छ।

कम्पनी व्यवस्थापनले यो उपलब्धि ग्राहक, लगानीकर्ता, अभिकर्ता, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाको विश्वास र सहयोगको प्रतिफल भएको जनाएको छ। आगामी दिनमा पनि ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन तथा दीर्घकालीन वित्तीय स्थायित्वलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

‘भविष्य सुनिश्चित’ भन्ने मूल नारासहित स्थापित आईएमई लाइफ नेपालका अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक हो। कम्पनीले जीवन बीमामार्फत व्यक्ति तथा परिवारको आर्थिक सुरक्षा, बचत र भविष्य सुनिश्चित गर्ने उद्देश्यले विभिन्न बीमा योजना सञ्चालन गर्दै आएको छ।

देशव्यापी शाखा तथा उपशाखा सञ्जालसँगै हजारौं अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जीवन बीमाको पहुँच देशका विभिन्न समुदायसम्म विस्तार गरेको जनाएको छ। ग्राहक केन्द्रित सेवा, डिजिटल प्रविधिको प्रयोग, जिम्मेवार लगानी व्यवस्थापन तथा नवीन बीमा समाधानमार्फत कम्पनीले नेपाली बीमा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको दाबी गरेको छ।

व्यावसायिक गतिविधिसँगै कम्पनीले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, सामुदायिक विकास तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ। समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ विभिन्न सामाजिक अभियानमा समेत सक्रिय सहभागिता जनाउँदै आएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ‘केयर–एनपी ए–’ मूल्याङ्कन प्राप्त गर्नु केवल उपलब्धि मात्र नभई अझ उत्कृष्ट सेवा, उच्च व्यावसायिक मापदण्ड र वित्तीय सुदृढताप्रति थप जिम्मेवार बन्ने प्रेरणा पनि हो। कम्पनीले आगामी दिनमा पनि बीमितहरूको भविष्य सुरक्षित गर्दै नेपालको बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।