ब्रेकिङ न्युज

संसद् सार्वभौम हो, आवश्यक परे सरकार बदल्न सकिन्छ – अर्थमन्त्री वाग्ले

२९ जेठ, काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद् सार्वभौम संस्था भएकाले आवश्यकता अनुसार प्रधानमन्त्री तथा सरकार परिवर्तन गर्ने अधिकार पनि यसैसँग रहने बताएका छन्।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो धारणा राखेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले बजेट कार्यान्वयनका क्रममा कार्यपालिकालाई धेरै अधिकार प्रत्यायोजन गरिने प्रावधानबारे प्रश्न उठाएपछि अर्थमन्त्री वाग्लेले वेस्टमिन्स्टर प्रणालीअनुसार व्यवस्थापिकाले नै कार्यपालिकालाई जनादेश दिने स्पष्ट पारे।

उनले भने, “कार्यपालिका वा प्रधानमन्त्री नियुक्त गर्ने थलो यही संसद् हो। त्यसैले यो सार्वभौम संस्था हो। मन नपरेको खण्डमा सरकारै फाल्न सक्ने अधिकार पनि यहीसँग हुन्छ।”

अर्थमन्त्री वाग्लेले संसदीय प्रणालीमा व्यवस्थापिकाले कार्यपालिकामाथि नियन्त्रण र निर्देशन गर्ने अधिकार रहने परम्परा रहेको पनि उल्लेख गरे।