ब्रेकिङ न्युज

हर्क साम्पाङको प्रश्न : रक्षा मन्त्री को हो ? संसद्‌मा ल्याइदिनुपर्‍यो

१९ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल–भारत सीमासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सीमाबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै त्यसको विरोधमा आफूले प्लेकार्ड प्रदर्शन गरेको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्री संसद्‌मा उपस्थित नभएको टिप्पणी गरेका हुन् ।

उनले वर्तमान रक्षामन्त्री को हुन् भन्ने प्रश्न उठाउँदै सभामुखमार्फत रक्षा मन्त्रीलाई संसद्‌मा उपस्थित गराउन माग गरेका छन् । साम्पाङले सुस्ता क्षेत्रमा भारतीय पक्षको सशस्त्र सीमा बल (एसएसबी)का अधिकारीहरूले नेपाली नागरिकलाई हप्कीदप्की गरेको तथा स्थानीय बासिन्दा आफ्नो भूमिको संरक्षणका लागि संघर्षरत रहेको देखिने भिडियोहरू सार्वजनिक भएको उल्लेख गरेका छन् ।

उनले उक्त घटनाप्रति नेपाल सरकार र रक्षा मन्त्रालयको गम्भिर ध्यान जानुपर्ने आवश्यकता औंल्याए । प्रधानमन्त्री संसद्‌मा उपस्थित नभएको अवस्थामा रक्षा मन्त्रीलाई बोलाएर सीमासम्बन्धी विषयमा जवाफ दिनुपर्ने उनको माग थियो ।

साम्पाङले सुस्ता क्षेत्रमा देखिएको अवस्थाबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्दै नेपाली भूमिको संरक्षणका लागि आवश्यक कदम चाल्नुपर्ने बताए ।