समाचार

काभ्रे बस दुर्घटनाले स्तब्ध सरकार, मृतकप्रति श्रद्धाञ्जली र छानबिनको घोषणा

२९ जेठ, काभ्रेपलाञ्चोक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काभ्रेपलाञ्चोकमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

शुक्रबार जारी प्रेस विज्ञप्ति अनुसार, जेठ २९ गते दिउँसो करिब २:१५ बजे काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा बा.३ ख ८३९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको तथा १६ जना घाइते भएका छन्।

सरकारले दुर्घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

विज्ञप्तिअनुसार, दुर्घटनालगत्तै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूको समन्वयमा उद्धार तथा उपचारको कार्य तत्काल अघि बढाइएको थियो। हाल घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई आवश्यक अनुसन्धान गर्न निर्देशन दिइसकेको जनाएको छ। साथै, घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको विज्ञप्तिमा उल्लेख छ।