ब्रेकिङ न्युज

विश्वकपको चमकभित्र लुकेको वातावरणीय खतरा

३० जेठ, काठमाडौं । आगामी सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकप फुटबल वातावरणीय दृष्टिले हालसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने भन्दै अनुसन्धानकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्।

म्यानचेस्टर, लफबरो र ब्रिस्टल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तयार पारेको ‘फुटबल र जलवायु परिवर्तन’ सम्बन्धी अध्ययनले प्रतियोगिताको आकार, खेल हुने शहरहरूको दूरी र हवाई यात्राको अत्यधिक प्रयोगले कार्बन उत्सर्जन उल्लेखनीय रूपमा बढाउने निष्कर्ष निकालेको हो।

यसपटक पहिलो पटक ४८ टोलीको सहभागिता रहने विश्वकपमा १०४ खेल उत्तर अमेरिकाका १६ शहरमा आयोजना हुँदैछन्। सन् २०२२ को कतार विश्वकपमा ३२ टोली र ६४ खेल मात्र भएकाले यसपटक यात्रा, ऊर्जा खपत र पूर्वाधार सञ्चालनमा ठूलो वृद्धि हुने अध्ययनले औंल्याएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार खेलाडी, प्रशिक्षक, अधिकारी, सञ्चारकर्मी र लाखौं समर्थकले लामो दूरीमा हवाई यात्रा गर्नुपर्ने भएकाले कार्बन उत्सर्जनको प्रमुख स्रोत यही बन्नेछ। प्रतियोगिताको बढ्दो व्यावसायिक विस्तारले पनि वातावरणीय चुनौती थप गम्भीर बनाएको उनीहरूको भनाइ छ।

प्रतिवेदनमा अन्तर्राष्ट्रिय फुटबल संस्थाहरूले वातावरण संरक्षणको प्रतिबद्धता जनाए पनि व्यवहारमा प्रतियोगिताको आकार र व्यापारिक विस्तारलाई प्राथमिकता दिएको उल्लेख गरिएको छ। फुटबलको विश्वव्यापी प्रभावलाई जलवायु संरक्षणका अभियानसँग जोड्नुपर्ने आवश्यकता पनि अध्ययनले औंल्याएको छ।

अनुसन्धानकर्ताहरूले भविष्यमा आयोजना हुने प्रतियोगिताप्रति पनि चिन्ता व्यक्त गरेका छन्। विशेषगरी सन् २०३४ को विश्वकप साउदी अरेबियामा आयोजना गर्ने योजनाले ऊर्जा स्रोतका कारण थप वातावरणीय दबाब सिर्जना गर्न सक्ने उनीहरूको निष्कर्ष छ।

प्रतिवेदनले विश्वकपजस्ता ठूला खेल प्रतियोगिताको आयोजना, यात्रा व्यवस्थापन र सञ्चालन शैलीमा वातावरणमैत्री सुधार नगरे जलवायु परिवर्तनको असर अझ गम्भीर बन्ने चेतावनी दिएको छ।