समाचार

कांग्रेसको वर्तमान अवस्थाप्रति शशांकको चिन्ता, ‘एकता नभए पार्टी झन् कमजोर बन्छ’

३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी गम्भीर आन्तरिक विभाजन र नेतृत्व संकटबाट गुज्रिरहेको भन्दै कांग्रेसलाई पुनः एकताबद्ध गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्।

विराटनगरमा कांग्रेस इतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले पार्टीभित्रको गुटबन्दीले कांग्रेसको जनाधार कमजोर बनाएको दाबी गरे। उनले कांग्रेसको लामो इतिहास र लोकतान्त्रिक योगदानलाई जोगाउन सबै पक्षबीच सहकार्य र एकता अपरिहार्य रहेको बताए।

वर्तमान नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले कुनै एक व्यक्तिले मात्र पार्टी सञ्चालन गर्न खोज्नु व्यवहारिक नहुने टिप्पणी गरे। सबै नेतालाई समेटेर अघि बढे मात्रै कांग्रेस बलियो बन्न सक्ने उनको भनाइ थियो।

कोइरालाले कांग्रेस दोस्रो ठूलो दलमा सीमित हुनु दुःखद भएको उल्लेख गर्दै गाउँ–गाउँमा अझै पनि पार्टीप्रति जनविश्वास रहेको दाबी गरे। तर आन्तरिक विभाजनकै कारण त्यसको राजनीतिक लाभ लिन नसकिएको उनको भनाइ थियो।

उनले सर्वोच्च अदालतबाट भएको सभापतिसम्बन्धी निर्णयप्रति पनि असहमति जनाउँदै त्यसको असर अहिले पार्टीले भोगिरहेको बताए। संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र कांग्रेसको पुनर्जागरणका लागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकजुट हुन उनले आह्वान गरे।