१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ‘रिटर्न टु भिलेज’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। अभियानमार्फत विदेशमा रहेका र सहरमा बसोबास गरिरहेका युवालाई गाउँ फर्काएर कृषि उद्यममा जोड्ने लक्ष्य लिइएको छ।
प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको छ भने स्थानीय तहलाई अनुदानस्वरूप १ अर्ब ९९ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ।
कृषिमा युवाको आकर्षण बढाउन सहुलियतपूर्ण ऋणको ब्याज अनुदान, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन, काष्ठफल खेतीको विस्तार तथा अत्याधुनिक मासु प्रशोधन केन्द्र सञ्चालनजस्ता कार्यक्रम पनि बजेटमा समेटिएका छन्। सरकारले कृषि क्षेत्रलाई रोजगारी, उत्पादन र आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अघि बढाउने जनाएको छ।





