ब्रेकिङ न्युज

३७ अर्बको लुम्बिनी बजेट: बालविवाहमुक्त अभियानदेखि पूर्वाधारसम्म

१ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ २२ अर्ब ७१ करोड र चालुतर्फ ११ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थासहित कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको हो।

सरकारले ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राख्दै पूर्वाधार विकास, उद्यमशीलता प्रवर्द्धन, डिजिटल सेवा विस्तार र सामाजिक विकासलाई प्राथमिकतामा राखेको छ।

बजेटअन्तर्गत १०९ स्थानीय तहलाई बालविवाहमुक्त अभियानका लागि प्रतिपालिका १० लाख रुपैयाँका दरले सशर्त अनुदान दिइनेछ। शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सडक तथा अधुरा आयोजना सम्पन्न गर्न पनि विशेष रकम विनियोजन गरिएको छ।

त्यस्तै, उद्यम विकास कोष स्थापना, स्टार्टअप सहयोग, डिजिटल लुम्बिनी कार्यक्रम विस्तार, तथा रोजगारी सिर्जनाका योजनालाई बजेटमा समेटिएको छ।

प्रदेश सरकारले संघीय संरचनाको सुदृढीकरण र सेवा प्रवाह सुधारलाई मुख्य उद्देश्य बनाउँदै आगामी वर्षको बजेट कार्यान्वयन गर्ने जनाएको छ।