समाचार

बेइजिङमा रास्वपा–सीपीसी संवाद, द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ असार, बेइजिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) सँग पार्टीगत सम्बन्ध र आपसी सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

बेइजिङमा रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनाल र सीपीसीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच भएको भेटवार्तामा दुवै पक्षले मैत्री सम्बन्ध, रणनीतिक संवाद र विभिन्न क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल गरेका हुन्।

भेटमा रास्वपाले नेपाल ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्‍याउँदै चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पारेको छ। साथै, विज्ञान–प्रविधि, शिक्षा, जलस्रोत, कनेक्टिभिटी तथा सुशासनका क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्न आफूहरू इच्छुक रहेको जनाएको छ।

सीपीसीले पनि रास्वपासँग दीर्घकालीन मैत्री सम्बन्ध विकास गर्दै अनुभव आदानप्रदान र विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएको छ।