ब्रेकिङ न्युज

अन्तिम क्षणमा रोकियो अमेरिका–इरान शान्ति सम्झौता

५ असार, काठमाडौं । अमेरिका र इरानबीच स्वीट्जरल्यान्डमा शुक्रबार हुने अपेक्षा गरिएको बहुप्रतीक्षित शान्ति सम्झौताको औपचारिक हस्ताक्षर समारोह अन्तिम समयमा स्थगित गरिएको छ। समारोहका लागि दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी नहुने भएपछि सम्झौता प्रक्रिया तत्कालका लागि रोकिएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिका र इरानबीचका केही जटिल तथा प्राविधिक विषयमा अझै पूर्ण सहमति जुट्न बाँकी रहेकाले औपचारिक हस्ताक्षरको सट्टा थप कूटनीतिक तथा प्राविधिक वार्तालाई प्राथमिकता दिइएको छ।

कूटनीतिक स्रोतहरूका अनुसार अब आगामी ६० दिनसम्म विभिन्न चरणमा प्राविधिक स्तरका छलफल सञ्चालन गरिनेछ। ती वार्तामार्फत सम्झौतामा रहेका बाँकी विषयहरू टुंग्याएर भविष्यमा औपचारिक हस्ताक्षरको वातावरण तयार पार्ने प्रयास हुनेछ।

हाल अमेरिका, इरान, कतार र पाकिस्तानका प्रतिनिधिमण्डलका अग्रिम टोलीहरू स्वीट्जरल्यान्डका विभिन्न स्थानमा रहेर वार्ताको नयाँ कार्ययोजना तथा प्रक्रियागत व्यवस्थापनमा जुटिरहेका छन्।

सम्झौता समारोह स्थगित भएसँगै यसको प्रभाव पाकिस्तानको भ्रमण तालिकामा समेत परेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले आफ्नो पूर्वनिर्धारित स्वीट्जरल्यान्ड भ्रमण रद्द गरेका छन्। मुख्य एजेन्डासम्बन्धी प्रारम्भिक समझदारी पूरा भइसकेकाले उक्त भ्रमण आवश्यक नरहेको निष्कर्ष निकालिएको बताइएको छ।

शान्ति सम्झौताको औपचारिक समारोह रोकिए पनि अमेरिका र इरानबीचको संवाद प्रक्रिया भने जारी रहने संकेत देखिएको छ। अबको दुई महिनाको प्राविधिक वार्ताले सम्झौताको भविष्य निर्धारण गर्ने विश्लेषण गरिएको छ।