ब्रेकिङ न्युज

२१ हजार तिर्ने मात्रै होइन, २१ समर्थक पनि जुटाउनुपर्ने – रास्वपाको नयाँ व्यवस्था

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनअन्तर्गत आगामी मंगलबार बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने तय गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको व्यवस्था अनुसार सभापति पदमा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। साथै, उम्मेदवारसँग १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य हुनुपर्नेछ।

त्यस्तै, अन्य पदाधिकारी पदका उम्मेदवारका लागि ४१ हजार रुपैयाँ शुल्क तोकिएको छ। पदाधिकारीमा उम्मेदवारी दिन १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

यस्तै, केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन चाहनेले २१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। यस पदका लागि पनि १ जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरिएको रास्वपाले जनाएको छ।

रास्वपाले पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो, जसका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको छ।