८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा लम्बिने भएको छ। पार्टीले महाधिवेशन अब असार १० गते (बुधबार) सम्म सञ्चालन हुने जनाएको छ।
पार्टीका प्रवक्ता मनिष झाले सोमबार साँझ महाधिवेशनको कार्यतालिका संशोधन गरिएको जानकारी दिएका हुन्। यसअघि आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनभित्र सम्पन्न गर्ने योजना थियो।
आइतबार उद्घाटन सत्र सम्पन्न भए पनि सोमबारका लागि तय गरिएको बन्द सत्र भने सुरु हुन सकेन। महाधिवेशन प्रतिनिधिको सूचीसम्बन्धी विवाद समाधानमा ढिलाइ भएपछि बन्द सत्र स्थगित गरिएको हो।
पार्टीका अनुसार विवाद समाधानका लागि आवश्यक आन्तरिक छलफल जारी छ। बन्द सत्र अब मंगलबारदेखि सुरु गर्ने तयारी गरिएको छ। कार्यक्रम पछाडि सरेसँगै महाधिवेशनको अवधि पनि एक दिन थप गरिएको प्रवक्ता झाले बताएका छन्।





