ब्रेकिङ न्युज

कार्यक्रममै बसेका नेताहरू अनभिज्ञ, यसरी भयो विष्णु पौडेलको गिरफ्तारी

८ असार, सुर्खेत । नेकपा (एमाले) को प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रम चलिरहेका बेला उपाध्यक्ष विष्णु पौडेललाई चुपचाप प्रहरी नियन्त्रणमा लिइएको घटना सार्वजनिक भएको छ। कार्यक्रमबारे जानकारी नभई नेताहरूले पछि समाचारमार्फत मात्र थाहा पाएका छन्।

सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा सोमबार आयोजित कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेल सहभागी थिए।

कार्यक्रम चलिरहेकै बेला सोमबार साँझ पौडेलको मोबाइलमा फोन आएपछि उनी हल बाहिर निस्किएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपीसहितको टोलीसँग उनी केहीबेर छलफलमा बसेका थिए।

प्रारम्भिक चरणमा उपस्थित नेताहरूले उक्त भेटलाई सामान्य ठानेका थिए। तर केहीबेरपछि पौडेल पुनः हलभित्र पसेर महासचिव पोखरेलसँग छोटो छलफल गरेपछि झोला लिएर बाहिरिएका थिए।

त्यसपछि उनी प्रहरीको भ्यानमा बसेर कार्यक्रमस्थलबाट बाहिरिएको प्रत्यक्षदर्शी नेताहरूले बताएका छन्। त्यसबेलासम्म कार्यक्रममा सहभागी अधिकांशलाई घटनाबारे कुनै जानकारी थिएन।

प्रहरी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई नियन्त्रणमा लिएको हो। सोमबार दिउँसो प्राप्त निर्देशनपछि प्रहरी टोली होटलमा पुगेर आवश्यक तयारी गरेको थियो।

एमाले नेताहरूका अनुसार कार्यक्रममै रहेका धेरैले पौडेल केही कामका लागि बाहिर गएको मात्र ठानेका थिए। घटना सार्वजनिक भएपछि मात्र उनलाई पक्राउ गरिएको थाहा पाएको बताएका छन्।

घटनाबारे एमाले कर्णाली प्रदेशकी सह–सचिव पद्मा खड्काले पनि पछि मात्र जानकारी पाएको बताउँदै नेताहरू समेत आश्चर्यमा परेको उल्लेख गरिन्।