ब्रेकिङ न्युज

५ लाख सदस्य भएको रास्वपामा महिलाको हिस्सा किन यति न्यून?

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुल सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी प्रथम महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदनअनुसार सदस्य संरचनामा लैंगिक असन्तुलन स्पष्ट देखिएको छ।

प्रतिवेदन अनुसार पुरुष सदस्य ३ लाख ९६ हजार ७८९ छन् भने महिलाको संख्या ८९ हजार ८९६ मात्र रहेको छ। प्रतिशतका हिसाबले पुरुष ७५.८ प्रतिशत र महिला १७.२ प्रतिशत छन्। त्यसैगरी ५८८ जना ‘अन्य’ श्रेणीमा रहेका छन् भने ३६ हजार १९२ जनाले आफ्नो लैंगिक पहिचान खुलाएका छैनन्, जसको हिस्सा ६.९ प्रतिशत रहेको छ।

महाधिवेशनमा प्रस्तुत तथ्यांकले पार्टीभित्र महिलाको न्यून सहभागिताबारे प्रश्न उठाएको छ। संगठन विस्तार तीव्र भए पनि नेतृत्व तहसम्म महिलाको पहुँच र प्रतिनिधित्व अझै सीमित देखिएको टिप्पणी भइरहेको छ।

महाधिवेशनबाट ९९ केन्द्रीय सदस्य चयन हुनेछन्। जसमा सातै प्रदेशबाट ५/५ जना अनिवार्य चयन गरिने व्यवस्था छ, र तीमध्ये प्रत्येक प्रदेशबाट दुई महिला रहने प्रावधान छ। बाँकी ६४ पद खुला प्रतिस्पर्धाबाट भर्ने तयारी छ।

निर्वाचित केन्द्रीय सदस्य चयनपछि पार्टीले सभापति र अन्य पदाधिकारी चयनको दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाउनेछ।