ब्रेकिङ न्युज

महाधिवेशनअघि फेरि बदलियो रास्वपा चुनावी तालिका, मतदान समय अझै अनिश्चित

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका फेरि संशोधन गरिएको छ। निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार यो तालिका तेस्रोपटक परिवर्तन गरिएको हो।

निर्वाचन आयोगका प्रमुख भुवन केसीले सार्वजनिक गरेको नयाँ कार्यतालिकाअनुसार आज साँझ ७ बजेदेखि साढे ७ बजेसम्म सभापति पदका लागि उम्मेदवारी फारम वितरण तथा दर्ता गरिनेछ। केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ताको समय साढे ७ बजेदेखि साढे ९ बजेसम्म तोकिएको छ।

उम्मेदवारहरूको प्रारम्भिक नामावली राति १० बजे प्रकाशित गरिनेछ। नामावलीविरुद्ध दाबी–विरोध दर्ताका लागि राति साढे १० बजेसम्मको समय दिइएको निर्वाचन आयोगले जनाएको छ।

दाबी–विरोधमाथिको छानबिन प्रक्रिया राति ११ बजेसम्म सम्पन्न गरिनेछ भने उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले राति सवा ११ बजेसम्म निवेदन दिन सक्नेछन्। उम्मेदवारहरूको अन्तिम नामावली राति पौने १२ बजे प्रकाशन गरिने आयोगले जनाएको छ।

अन्तिम नामावली प्रकाशनसँगै राति पौने १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। सभापति र केन्द्रीय सदस्य पदका लागि पहिलो चरणको मतदान बुधबार बिहान हुने तय भए पनि मतदानको ठ्याक्कै समय भने अझै सार्वजनिक गरिएको छैन।

निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदान सम्पन्न भएको दुई घण्टाभित्र मतगणना गरी परिणाम सार्वजनिक गरिनेछ। दोस्रो चरणका उम्मेदवारी तथा अन्य निर्वाचन कार्यक्रमको तालिका भने पछि सार्वजनिक गरिने जनाइएको छ।