समाचार

सीमामा अब ‘गुप्त निगरानी’! सादा पोशाकमा खटिने बीआईटी टोली

११ असार, काठमाडौँ । सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा क्षेत्रमा बोर्डर इन्टरयाक्सन टिम (बीआईटी) परिचालन गर्ने तयारी गरेको छ। प्रारम्भिक चरणमा पाइलट परियोजनाका रूपमा मुख्य सीमा नाकाहरूमा यो टोली खटाइने र सफलतापछि देशभरका अन्य सीमाक्षेत्रमा विस्तार गरिने योजना रहेको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल ले सीमा व्यवस्थापनलाई आधुनिक र नागरिकमैत्री बनाउन बीआईटी अवधारणा कार्यान्वयन गर्न लागिएको जानकारी दिए।

बीआईटीमा सशस्त्र प्रहरीकै जनशक्ति रहने भए पनि उनीहरू नियमित बर्दीमा नभई सादा पोशाकमा परिचालित हुनेछन्। यद्यपि टोलीको पहिचान झल्किने विशेष पोशाक वा चिन्ह प्रयोग गरिनेछ।

यो टोलीले सीमावर्ती क्षेत्रका स्थानीय नागरिकसँग प्रत्यक्ष समन्वय गर्ने, छिमेकी देशका सुरक्षा निकायसँग सहकार्य बढाउने तथा सीमामा देखिने विभिन्न समस्या समाधानमा पुलको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार बीआईटीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, राजस्व चुहावट तथा अन्य अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। साथै विपद् व्यवस्थापन र उद्धार कार्यलाई पनि प्राथमिकतामा राखेर टोली परिचालन गरिनेछ।

भारतको सीमा सुरक्षा बल (एसएसबी) मा यस्तै प्रकृतिको टोली सञ्चालनमा रहेको उदाहरण दिँदै एपीएफले नेपालमा पनि सीमा सुरक्षाको नयाँ मोडल लागू गर्न लागेको जनाएको छ।