११ असार, काठमाडौं । मनसुन सुरु भइसके पनि नेपालमा जुन महिनाभर अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको सामान्य औसतको तुलनामा निकै कम हो।
सामान्यतया यही अवधिमा नेपालमा करिब २१४ मिलिमिटर वर्षा हुने गर्छ। तर यस वर्ष हालसम्म भएको वर्षा औसतको ६९.६ प्रतिशत मात्र रहेको विभागको तथ्यांकले देखाएको छ।
विभागका अनुसार जुन महिनाको सुरुवातदेखि नै वर्षाको मात्रा सामान्य अवस्थाभन्दा कमजोर रह्यो। दैनिक वर्षाको तथ्यांकले पनि अधिकांश दिनमा औसतको ९० प्रतिशतभन्दा कम वर्षा भएको देखाएको छ।
मौसमविद्हरूले मनसुन नेपाल भित्रिए पनि देशभर समान रूपमा सक्रिय हुन नसक्दा वर्षा कम भएको बताएका छन्। मनसुनी प्रणाली केही सीमित भूभागमा केन्द्रित भएकाले राष्ट्रिय स्तरमा वर्षाको औसत घटेको हो।
यद्यपि, जुनको अन्तिम साता र जुलाईको सुरुवातसँगै मनसुनी वायु थप सक्रिय हुने सम्भावना रहेकाले वर्षाको मात्रा बढ्न सक्ने अनुमान गरिएको छ।
यसअघि नै विभागले सार्वजनिक गरेको मौसमी प्रक्षेपणमा यस वर्षको मनसुन अवधिभर देशका धेरै स्थानमा औसतभन्दा कम वर्षा र औसतभन्दा बढी तापक्रम रहने सम्भावना औंल्याएको थियो।





