समाचार

स्वर्णिमको ‘क्लिन स्वीप’, प्रवासका सबै मत एक्लैले पाए

११ असार , चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि भएको मतदानमा उपसभापति डा. स्वर्णिम वाग्लेले प्रवासतर्फबाट शतप्रतिशत मत प्राप्त गरेका छन्।

प्रवासबाट सहभागी प्रतिनिधिहरूमध्ये मतदानमा खसेका सबै मत वाग्लेको पक्षमा परेपछि उनी उक्त समूहबाट सर्वाधिक लोकप्रिय उम्मेदवारका रूपमा देखिएका छन्। प्रवासतर्फ १७० प्रतिनिधि रहे पनि ४९ जनाले मतदान गरेका थिए र ती सबै मत वाग्लेको पक्षमा गएको बताइएको छ।

महाधिवेशनस्थल भरतपुरमा अहिले मतगणनाको अन्तिम तयारी भइरहेको छ। प्रवासतर्फको मतदान प्रक्रिया सम्पन्न भइसकेकाले केहीबेरमै समग्र मतपरिणाम सार्वजनिक गर्ने तयारी निर्वाचन समितिले गरेको छ।

मतपरिणाम सार्वजनिक हुने तयारीसँगै उम्मेदवार र प्रतिनिधिहरू सभा हलमा भेला हुन थालेका छन्। महाधिवेशनको चुनावी परिणामलाई लिएर पार्टीभित्र उत्सुकता बढेको छ।

रास्वपाको संशोधित विधानअनुसार पार्टीमा १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। त्यसमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन्। बाँकी ५१ सदस्य सभापतिले मनोनीत गर्नेछन् भने सातै प्रदेशका सभापति पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहनेछन्।