उर्जा

ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण

१२ असार, दमौली (तनहुँ) । जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तनहुँको देवघाट गाउँपालिका–५ स्थित ४७.७ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणस्थलको स्थलगत निरीक्षण गरेका छन् ।

मौला कालिका हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना देवघाट साँढेबगर क्षेत्रमा निर्माणाधीन रहेको छ । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजनाको निर्माण प्रगति, व्यवस्थापन, कार्यान्वयनको अवस्था तथा आगामी कार्ययोजनाबारे आयोजना पक्षबाट जानकारी लिए । उनले आयोजना निर्धारित समयमै सम्पन्न गर्न आवश्यक समन्वय, प्रभावकारी व्यवस्थापन र गुणस्तरीय निर्माणमा जोड दिए ।

यसै क्रममा मन्त्री श्रेष्ठले गलेश्वर पहिरो क्षेत्रको पनि स्थलगत निरीक्षण गरे । निरीक्षणका क्रममा पहिरोको वर्तमान अवस्था, सम्भावित जोखिम, भइरहेको नियन्त्रण तथा न्यूनीकरणका कामको प्रगति र थप आवश्यक उपायबारे सरोकारवाला निकायसँग छलफल गरिएको थियो ।

मन्त्री श्रेष्ठले प्राकृतिक विपद्का जोखिमयुक्त क्षेत्रको नियमित अनुगमन गर्दै जनधनको सुरक्षा सुनिश्चित गर्न आवश्यक पूर्वतयारी, समन्वय र दीर्घकालीन समाधानका उपाय प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए।