१६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ ।
भुवन केसीको अध्यक्षतामा रहेको केन्द्रीय निर्वाचन आयोगले संशोधित सूची सार्वजनिक गरेको हो । उम्मेदवारहरूले बढी मत ल्याउँदा पनि क्लस्टर मिलाउने क्रममा अन्याय भएको गुनासो गरेका थिए । त्यसपछि आयोगले मतपरिणाम र सम्बन्धित कागजात पुनः अध्ययन गरेको जनाइएको छ ।
संशोधित सूचीअनुसार कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम हटाइएको छ । उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्य घोषणा गरिएको छ । आयोगका अनुसार जनजाति क्लस्टरतर्फ प्रारम्भिक नतिजामा त्रुटि भएको थियो । मतपरिणाम र उम्मेदवारीका कागजात पुनः परीक्षण गर्दा ध्रुवकुमार थापामगर निर्वाचित भएको पुष्टि भएको हो ।
गण्डकी प्रदेशतर्फको मतपरिणाममा पूजा बास्तोला निर्वाचित हुनुपर्नेमा सोम शर्मालाई घोषणा गरिएको थियो। सो त्रुटि सच्याउँदै बास्तोलालाई निर्वाचित घोषणा गरिएको आयोगले जनाएको छ ।




