समाचार

गृहले जिल्ला प्रशासनलाई भन्यो स्थानीयस्तरमै समस्या समाधान गर्नु

१६ असार, काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई स्थानीयस्तरका गुनासा तथा समस्याहरूको समाधान जिल्लामै गर्न निर्देशन दिएको छ।

नागरिकहरूलाई सानातिना विषयमा पनि केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो।

मन्त्रालयले जारी गरेको पत्रअनुसार, स्थानीयस्तरका गुनासा र समस्याहरूलाई जिल्ला प्रशासन कार्यालय वा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समाधान गरिनुपर्नेछ।

यसले स्थानीय प्रशासनको प्रभावकारिता बढाउनुका साथै नागरिकको विश्वास कायम राख्न मद्दत पुग्ने विश्वास मन्त्रालयले लिएको छ।

गृह मन्त्रालयले जिल्लाको कार्यसम्पादनमाथि प्रत्यक्ष सुपरीवेक्षण गर्ने जनाएको छ। यस सन्दर्भमा, कुनै पनि जिल्ला प्रशासनले असक्षमता वा उदासिनता प्रदर्शन नगर्नसमेत सचेत गराइएको छ।

मन्त्रालयले यस निर्देशनको अक्षरसः पालना र दृढ कार्यान्वयनको अपेक्षा गरेको छ।

नागरिक केन्द्रित शासन व्यवस्थाको साख जोगाउन र बजारमा विधिको शासन कायम गर्न स्थानीय प्रशासनले आफ्नो सम्पूर्ण व्यावसायिकता प्रदर्शन गर्नेमा मन्त्रालय पूर्ण विश्वस्त रहेको शाखा अधिकृत संगम सापकोटाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।