ब्रेकिङ न्युज

चलचित्र उद्योगलाई सुदृढ बनाउन सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना

१६ असार, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् । चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानुन, नीति र कार्यक्रममार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको बताए ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्र विकास बोर्डले यस क्षेत्रको अभिभावकीय भूमिका बहन गर्नुपर्नेसमेत आवश्यकता औँल्याए । बोर्डका योजना, कार्यक्रम र बजेटले प्रत्यक्ष रूपमा चलचित्र उद्योगलाई कसरी लाभ पु¥याउँछ भन्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्र क्षेत्र समृद्ध र सन्तुष्ट भएमा मात्रै बोर्डको सफलता अर्थपूर्ण हुने धारणा राखे । बोर्डले आगामी आर्थिक वर्षका लागि बजेट बनाइरहेको परिप्रेक्ष्यमा चलचित्रकर्मीको भावना समेट्नेगरी योजना बनाउन पनि उनले आग्रह गरे । संसद्मा विचाराधीन रहेको चलचित्र विधेयकलाई समयसापेक्ष, व्यावहारिक र चलचित्र उद्योगको वास्तविक आवश्यकताअनुकूल बनाउन सबै सरोकारवालासँग सुझाव लिइने पनि सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ छ । “चलचित्र विधेयकमा यस क्षेत्रका सरोकारवाला सबैको सुझाव आवश्यक छ । चलचित्रकर्मीका अहिलेका आवश्यकता र चाहनालाई सम्बोधन गर्ने बलियो कानुनी दस्तावेज तयार गर्न सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्छ”, उनले भने। चलचित्र क्षेत्रले अपेक्षा गरेअनुसारको ऐन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै उनले निरन्तर संवाद र सहकार्यबाट मात्र प्रभावकारी कानुन बन्न सक्ने विश्वास व्यक्त गरे। चलचित्रकर्मीसँग नियमित छलफल गर्दै आवश्यक नीतिगत र संरचनात्मक सुधार अघि बढाइने सञ्चारमन्त्री डा तिमिल्सिनाले स्पष्ट पारे । उनले नेपाली चलचित्र उद्योगले कठिन परिस्थितिका बाबजुद निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै त्यसको श्रेय अग्रज चलचित्रकर्मीको अथक योगदानलाई दिए । “पुराना पुस्ताका चलचित्रकर्मीको निरन्तर सङ्घर्ष र समर्पणकै कारण नेपाली चलचित्र आजको अवस्थासम्म आइपुगेको हो”, उनले भने । साथै चलचित्र क्षेत्रको इतिहास, विकासक्रम र योगदानलाई दस्तावेजीकरण गर्न अनुसन्धानमा आधारित लेख, पुस्तक तथा अध्ययन प्रकाशनमा पनि जोड दिन आवश्यक रहेको धारणा राखे । सञ्चारमन्त्री डा तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा प्रत्येक क्षेत्रले नागरिकको विश्वास जित्नुपर्ने उल्लेख गर्दै चलचित्र क्षेत्र त्यसबाट अलग रहन नसक्ने बताए । विभिन्न लोकतान्त्रिक आन्दोलनमा चलचित्र क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले यस क्षेत्रले नागरिकको आशाअनुसार काम गर्न सक्नुपर्ने बताए । चलचित्र उद्योगलाई आर्थिक रूपमा अझ सक्षम बनाउन चलचित्रकर्मीले स्वस्थ प्रतिस्पर्धा, पारस्परिक सहयोग र सहकार्यको संस्कृतिलाई बलियो बनाउन आग्रह गरे । “एक–अर्कालाई सहयोग गरेर अघि बढ्नुहोला । चलचित्र उद्योग बलियो भयो भने त्यसको प्रत्यक्ष लाभ कलाकार, प्राविधिक, निर्माता, वितरकदेखि राज्यसम्म सबैलाई पुग्छ”, उनले भने । समारोहमा सञ्चार सचिव लक्ष्मी कुमारी बस्नेतले नेपाली चलचित्रलाई अन्तरर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन गुणस्तरीय सामग्री उत्पादन, आधुनिक प्रविधिको प्रयोग तथा प्रभावकारी प्रवर्द्धन आवश्यक रहेको धारणा राखे। नेपाली चलचित्रको विश्वव्यापी पहुँच विस्तारका लागि सरकार, बोर्ड र निजी क्षेत्रबीच अझ सुदृढ सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नयाँ चलचित्र विधेयक निर्माणको चरणमा रहेकाले सम्पूर्ण सरोकारवालाले सक्रिय रूपमा सुझाव दिनुपर्ने आवश्यकता औँल्याए । चलचित्र क्षेत्रको अनुभव र व्यावहारिक पक्ष समेटिएको ऐनले मात्र उद्योगलाई दीर्घकालीन रूपमा लाभ पु¥याउने विश्वास व्यक्त गर्दै उनले सबै क्षेत्रबाट रचनात्मक सुझावको अपेक्षा रहेको बताए । अध्यक्ष डीसीले वरिष्ठ चलचित्रकर्मीको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । आगामी आर्थिक वर्षका लागि चलचित्र विकास बोर्डको बजेट पनि चलचित्र उद्योगमैत्री र प्रभावकारी रूपमा आउने विश्वास व्यक्त गर्दै उनले बोर्डले चलचित्र क्षेत्रको संस्थागत विकास, प्रविधि विस्तार तथा अन्तरराष्ट्रिय पहुँच बढाउन थप कार्यक्रम अघि बढाउने बताए ।