मनोरञ्जन

गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’

१८ असार, काठमाडौँ । आगामी साउन १ गतेदेखि नेपाली चलचित्र ‘गौँथली’ प्रदर्शन हुँदैछ ।

झन्डै २५ वर्ष अगाडि प्रदर्शन भएको सोही शीर्षकको चलचित्र गीतिकथामा आधारित रहेर ‘गौँथली’ तयार गरिएको हो ।

सानै उमेरमा विवाह हुने बालिकाको पढ्ने चाहनालाई कथामा तयार गरिएको गीति चलचित्र ‘गौँथली’ को कथा लेखनका साथै निर्माण डाक्टर भोला रिजालले गरेका हुन् ।

सोही शीर्षक र भावमा रहेर डा रिजालकै छोरा डा कपिल रिजालले ‘गौँथली’को निर्माण तथा निर्देशन गरेका हुन् । निर्देशक डा रिजालको यो दोस्रो चलचित्र हो, यसअघि उनले ‘ह्यारीकी प्यारी’ नामक चलचित्र निर्देशन गरिसकेका छन् ।

बेलायतमा दन्त चिकित्सक रहनुभएका डा रिजाल पछिल्लो समय चलचित्रको काममै निरन्तर छन् । सानैदेखि कलाकै माहोलमा हुर्किएका कारण लगाव चलचित्रप्रति बढेको हुनसक्ने निर्देशक डा रिजालले बताए ।

“मैले पहिलादेखि नै साङ्गीतिक श्रव्यदृश्य, छोटा चलचित्र बनाउने गर्थे, यसमा मेरो रूचि बढ्नुका साथै रहर पनि थियो । अहिले समय सही आएकोजस्तो लागेर मैले चलचित्र निर्देशन गरिरहेको छु, मैले निर्देशन गरिरहेका चलचित्रले मनोरन्जनसँगै सामाजिक सन्देश पनि दिएको छ”, निर्देशक डा रिजालले भने ।

उनले निर्देशन गर्नुभएका दुवै चलचित्र ‘ह्यारीकी प्यारी’ र ‘गौँथली’ मा स्वास्थ्यसँग सम्बन्धित विषय जोडिएको छ । ‘ह्यारीकी प्यारी’ मा ‘स्पर्म डोनेशन’ (वीर्य दान) को विषयवस्तुलाई प्रस्तुत गरेका निर्देशक डा रिजालले ‘गौँथली’ मा ‘अटिजम’ भएको व्यक्तिको जीवनशैलीलाई प्रस्तुत गरेका छन् ।

“म चिकित्सक भएकाले पनि मलाई ती विषयहरू सोचमा आउने गरेको हुनसक्छ, सोही कारण मैले निर्देशन गरेका चलचित्रमा कथा तयार गर्दा स्वास्थ्य पनि जोडिन्छ । यसले आम दर्शकले ती स्वास्थ्य समस्यासँग परिचित गराउनुका साथै त्यस्ता समस्या भएमा के गर्ने भन्नेबारेमा सुक्ष्म तरिकाले जानकारी दिईरहेको हुन्छ”, उनले भने।

उनले चलचित्र ‘गौँथली’ मा एउटी अध्ययन गर्न चाहिरहेकी बालिका र असामान्य देखिने युवकको जोडीलाई चलचित्रमा प्रस्तुत गरेका छन् । शिक्षाबाट वञ्चित बालिकाले गर्ने सङ्घर्ष नै चलचित्रको मुख्य विषय हो । ग्रामीण परिवेशमा तयार गरिएको चलचित्रमा ‘अटिजम’ भएका युवकको रुपमा अभिनेता अरुण क्षेत्री र एसइई पास गर्ने सपना बोकेकी बालिकाको रुपमा अभिनेत्री सिम्रन खड्का देखिएका छन् ।

“पढ्ने रहर हुँदाहुँदै कम उमेरमै विवाह गर्नुपरेकी युवती र असामान्य व्यवहार देखाउने जोडीको कथामा चलचित्र तयार भएको छ । झट्ट हेर्दा असामान्य देखिने जोडीले जीवनमा भोग्ने उतारचढावमा शिक्षाले पार्ने प्रभाव चलचित्रमा देखाइएको छ । गम्भीर विषयमा सरल चलचित्र बनाउने कोसिस गरेका छौँ”, अभिनेता क्षेत्रीले भने।

उक्त चलचित्रमा अभिनेता क्षेत्रीसँगै सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गरेका छन् ।

डा भोला रिजालको कथामा आधारित उक्त चलचित्रको सम्बाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । निर्देशक रिजालले ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको बताए ।

“हामीले चलचित्रमा घर र परिवारको महत्व देखाउन खोजेका छौँ, जहाँ शिक्षाको महत्त्वपूर्ण भूमिका छ”, निर्देशक रिजालले भने । चलचित्रलाई सुमन गिरी र निर्देशक रिजालले संयुक्त रूपमा निर्माण गरेका छन् ।