१८ हसार, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि आज उनकै कार्यकक्षमा आक्रमण भएको छ।
कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनीहरुलाई धादिङको गजुरीबाट गाडीसहित पक्राउ गरिएको हो ।
दुवै जनालाई चितवन ल्याइँदै छ । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले आज बिहान केही व्यक्तिले कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूमाथि सामूहिक रूपमा आक्रमण गरेको बताए।
घाइते बस्नेतको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार घटनापछि कर्मचारीले दोषीलाई कारबाहीको माग गर्दै काम बन्द गरेका थिए ।




