१९ असार, काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्मचारीहरूको मूल्याङ्कन बढुवाका लागि अनलाइन आवेदन आह्वान गरेको छ।
बैंकले शुक्रबार सूचना प्रकाशित गर्दै विभिन्न सेवा र समूहअन्तर्गत कुल ९३ पदमा बढुवा प्रक्रिया सुरु गरिएको जनाएको हो।
बैंकका अनुसार कर्मचारी सेवा विनियमावली, २०७० (सातौँ संशोधन) बमोजिम कार्यसम्पादन मूल्याङ्कन, ज्येष्ठता, शैक्षिक योग्यता तथा भौगोलिक क्षेत्रका आधारमा बढुवा गरिनेछ।
२०८२ असार मसान्तसम्म आवश्यक न्यूनतम सेवा अवधि र शैक्षिक योग्यता पूरा गरेका कर्मचारीहरूले ३० दिनभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
सूचनाअनुसार मुख्य प्रबन्धक, वरिष्ठ प्रबन्धक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक तथा सूचना प्रविधि, लेखा, कानुन र नगद समूहका विभिन्न पदमा बढुवा गरिनेछ।
बैंकले आवेदन आफ्नो आधिकारिक भर्ती पोर्टलमार्फत मात्र स्वीकार गरिने जनाएको छ। साथै तोकिएको समयसीमाभित्र आवेदन नदिने कर्मचारीहरू बढुवा प्रक्रियामा समावेश नहुने स्पष्ट गरेको छ ।






