२७ असार, काठमाडौं । विज्ञान विषयमा स्नातकोत्तर (एमएससी) उत्तीर्ण गरेका सर्लाहीका ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। गोडैता नगरपालिका–१० सिसौटियाका मण्डल गम्भीर घाइते भएका छन् र उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको चिकित्सकहरूले बताएका छन्। प्रारम्भिक उपचारपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ, जहाँ आईसीयूमा उपचार भइरहेको छ।
परिवारका अनुसार विवेकले महोत्तरीको गौशाला नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालय रामनगरमा करिब तीन वर्ष करार शिक्षकका रूपमा अध्यापन गरेका थिए। गत वर्ष जागिर छाडेपछि उनी नयाँ रोजगारीको खोजीमा थिए। धेरै ठाउँमा आवेदन दिँदा लिखित परीक्षामा राम्रो नतिजा ल्याए पनि अन्तर्वार्तामा सफल हुन नसकेको उनका बुबा उपेन्द्र मण्डलले बताएका छन्। लगातार रोजगारी नपाउनु, पढाइमा लागेको खर्च र परिवारको आर्थिक अवस्था सुधार्ने चिन्ताले उनी लामो समयदेखि तनावमा रहेको परिवारको भनाइ छ।
स्थानीय जनप्रतिनिधि र बासिन्दाका अनुसार विवेक करिब एक वर्षदेखि बेरोजगार थिए र मानसिक रूपमा असहज देखिन्थे। विद्यालय स्रोतले पनि सेवा निरन्तरता नहुनुको पछाडि विद्यालयभित्रको केही विवाद रहेको जनाएको छ। यद्यपि, आत्मदाह प्रयासको वास्तविक कारण अझै स्पष्ट भइसकेको छैन।
प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। प्रारम्भिक रूपमा मानसिक तनाव एक कारण हुन सक्ने देखिए पनि घटनाको यथार्थ कारणबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।






