अन्तर्राष्ट्रिय

चीनमा शक्तिशाली आँधी, २० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

२८ असार, काठमाडौं । चीनमा शक्तिशाली आँधी आएपछि २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आँधीको सम्भावित खतरालाई ध्यानमा राख्दै यसको बाटोमा रहेका क्षेत्रबाट झन्डै २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चीनको मौसम विभागका अनुसार आँधीले शनिबार साँझ पहिलोपटक ताइझोउ सहरमा जमिन छोएको थियो। त्यसपछि सोही रात वेन्झोउ क्षेत्रमा दोस्रोपटक ल्यान्डफल गरेको जनाइएको छ। आँधीको प्रभाव क्षेत्र करिब एक हजार किलोमिटरसम्म फैलिएको बताइएको छ।

चीन पुग्नुअघि बावीले जापानका दुर्गम टापुहरूमा असर पुर्‍याएको थियो भने उत्तरी ताइवानमा मुसलधारे वर्षा गराएको थियो। यसअघि यही आँधीका कारण फिलिपिन्समा आएको पहिरोमा कम्तीमा १७ जनाको ज्यान गएको थियो।

मौसमविद्का अनुसार आँधीको तीव्रता क्रमशः कमजोर बन्दै गए पनि यसले बोकेको अत्यधिक जलवाष्पका कारण अझै पनि भारी वर्षा, बाढी र डुबानको जोखिम कायम रहेको छ।

चीनको मौसम विभागले आँधी उत्तरपश्चिमतर्फ अघि बढ्दै जाँदा विस्तारै कमजोर हुने अनुमान गरेको छ। यद्यपि आइतबार पूर्वी झेजियाङ र उत्तरपूर्वी फुजियान प्रान्तमा अत्यधिक वर्षा हुन सक्ने भन्दै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।